प्राधिकरणको नाफामा ब्रेक, आर्थिक वर्ष २०८२/८३ मा घट्यो मुनाफा


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य रूपमा घटेको छ। प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको जानकारी दिएका छन्।

यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५८.६० प्रतिशतले कम हो। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले करअघिको नाफा १२ अर्ब १७ करोड रुपैयाँ कमाएको थियो।

अघिल्लो आर्थिक वर्षमा करपश्चात प्राधिकरणको खुद नाफा ८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। तर, चालु आर्थिक वर्षमा करअघिकै नाफामा ठूलो गिरावट आएपछि प्राधिकरणको वित्तीय प्रदर्शन कमजोर देखिएको छ।

प्राधिकरणले पछिल्लो समय विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणाली विस्तारमा ठूलो लगानी गर्दै आएको छ। यद्यपि, नाफामा आएको यो गिरावटले प्राधिकरणको आम्दानी, विद्युत् खरिद तथा बिक्री र सञ्चालन खर्चलगायतका पक्षमाथि चासो बढाएको छ।

प्राधिकरणको वार्षिकोत्सवमा सार्वजनिक गरिएको विवरणअनुसार एक वर्षमै करअघिको नाफा ७ अर्ब १३ करोड रुपैयाँले घटेको देखिएको छ।