आईएमई लाइफको नवौँ वार्षिकोत्सवमा ‘न्यानो नानी’ अभियान, आविष्कार केन्द्रसँग सम्झौता


काठमाडौँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी नवौँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर वितरणसम्बन्धी सम्झौता गरेको छ।

कम्पनीले भदौ १ गते आफ्नो नवौँ वार्षिकोत्सव मनाएको हो। ग्राहककेन्द्रित सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कम्पनीले वार्षिकोत्सवलाई सामाजिक सेवामूलक कार्यक्रमसँग जोडेको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभर रहेका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षरोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनालगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेद्र पौडेलका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमले समाजका विभिन्न वर्ग तथा क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

रक्तदान कार्यक्रमले अस्पतालमा हुने रगतको अभाव कम गर्न सहयोग पुग्ने तथा वृक्षरोपणले वातावरण संरक्षणमा योगदान पुर्‍याउने कम्पनीको विश्वास छ। त्यस्तै, खाद्यान्न वितरण कार्यक्रम आर्थिक रूपमा विपन्न परिवारलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको जनाइएको छ।

यसै क्रममा आईएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गरेको हो। सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर आईएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताए।

‘न्यानो नानी’ समय नपुगी जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराई उनीहरूको जीवन जोगाउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधाबाट टाढा रहेका क्षेत्रमा यसको उपयोग महत्वपूर्ण हुने जनाइएको छ।

सहकार्यको पहिलो चरणमा आईएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण हस्तान्तरण गर्नेछ। ती उपकरण सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा उपयुक्त स्थानमा जडान गरिने कम्पनीले जनाएको छ।

भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सेवामा न्यून पहुँचका कारण दुर्गम क्षेत्रमा जन्मिने नवजात शिशुले भोग्दै आएको स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने उद्देश्यले यो पहल अघि बढाइएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्ने योजना रहेको छ।

आईएमई लाइफले पछिल्ला वर्षहरूमा सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रममार्फत योगदान गर्दै आएको जनाएको छ। जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्दै बीमा सेवामार्फत नागरिकको वित्तीय सुरक्षा बढाउने र समग्र राष्ट्रिय विकासमा योगदान पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित कम्पनी अघि बढिरहेको जनाएको छ।