नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । प्रहरीले ठूलो मात्रामा भन्सार छली ल्याइएको कपडा तथा तयारी पोसाक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार पूर्व–पश्चिम राजमार्गमा बिल–बिजक नभएको भन्सार छलीको सामान ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उक्त सामान बरामद गरेको हो।
प्रहरी चौकी टोलीले कावासोती नगरपालिका–८ स्थित फलफूल चोकमा सवारीसाधन जाँच गर्ने क्रममा पश्चिमबाट पूर्व नारायणगढतर्फ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रकलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा ट्रकभित्र लुकाइछिपाइ राखिएका बिल–बिजक नभएका विभिन्न सामान फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामानमा विभिन्न रंगका कुर्ता सुरुवाल २ हजार १६० थान, साडी १ हजार ५०० थान, काँचो कपडा २२५ थान (६ हजार ८७५ मिटर) र काँचो कपडा ३४५ थान (९ हजार ६८७ मिटर) रहेका छन्।
प्रहरीका अनुसार बरामद सामानको कुल मूल्य ६७ लाख ५० हजार ५०० रुपैयाँ रहेको छ।
बरामद सामानसहित ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।























प्रतिक्रिया