काठमाडौं – नाडा अटो शोको पूर्वसन्ध्यामा टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी सिएरा ईभी नेपाल भित्रिएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल ल्याएको हो।
काठमाडौंमा साउन ९ गतेदेखि सुरु हुने नाडा अटो शोमा सिएरा ईभीलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ। आकर्षक डिजाइन, लामो ड्राइभिङ रेन्ज, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिका कारण यो एसयूभीले नेपाली विद्युतीय सवारी बजारमा राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।
भारतमा जुन ३० मा सार्वजनिक भएको सिएरा ईभी नेपालमा समेत छोटो समयमै प्रवेश गरेको हो। भारतमा सार्वजनिक भएसँगै बुकिङ खुला गरिएको थियो भने जुलाई १५ देखि ग्राहकलाई डेलिभरी सुरु गरिएको थियो।
६६५ किलोमिटरसम्म रेन्ज
सिएरा ईभी भारतीय बजारमा ६३ किलोवाट–आवर र ७५ किलोवाट–आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार ७५ किलोवाट–आवर ब्याट्री भएको संस्करणले एकपटक पूर्ण चार्जमा ६६५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
फास्ट चार्जिङ प्रविधिमार्फत १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्मको रेन्ज थप गर्न सकिने कम्पनीको दाबी छ। ब्याट्रीमा लाइफटाइम वारेन्टीको सुविधा पनि उपलब्ध गराइएको छ।
भारतमा सिएरा ईभीको प्रारम्भिक मूल्य १८ लाख ७९ हजार भारतीय रुपैयाँ तोकिएको छ। नेपालमा भने यसको मूल्य र बिक्री सुरु हुने मिति हालसम्म सार्वजनिक गरिएको छैन।
पुरानो सिएराको झल्को, आधुनिक डिजाइन
डिजाइनमा सिएरा ईभीले चर्चित पुरानो सिएराको बक्सी स्वरूपलाई आधुनिक इलेक्ट्रिक एसयूभी डिजाइनसँग जोडेको छ। अगाडि र पछाडिको कनेक्टिङ एलईडी लाइट बार, फराकिलो बडी र १९ इन्च अलोय ह्विलले यसलाई प्रिमियम लुक दिएको छ।
केबिनमा पनि आराम र प्रविधिलाई प्राथमिकता दिइएको छ। यसमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल–जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड कार प्रविधि, हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जर उपलब्ध छन्।
मनोरञ्जनका लागि १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधि पनि दिइएको छ।
सुरक्षामा पनि आधुनिक प्रविधि
सुरक्षातर्फ सिएरा ईभीमा ६ एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड र लेभल–२ एडीएएस जस्ता सुविधा छन्।
विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राख्दै बुस्ट र रिल्याक्स मोडसहित ६ वटा ड्राइभिङ मोड उपलब्ध छन्।
५.८ सेकेन्डमै १०० किमि प्रतिघण्टा
सिएरा ईभीको फोर ह्विल ड्राइभ संस्करण प्रदर्शनका हिसाबले पनि शक्तिशाली रहेको कम्पनीको दाबी छ। डुअल मोटरयुक्त यो संस्करणले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ भने ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै हासिल गर्न सक्छ।
फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सनले विभिन्न किसिमका सडकमा आरामदायी यात्रा प्रदान गर्ने दाबी गरिएको छ।
६२२ लिटर बुट स्पेस
व्यावहारिक प्रयोगलाई ध्यानमा राख्दै सिएरा ईभीमा ६२२ लिटरको बुट स्पेस र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज दिइएको छ। यसले पारिवारिक प्रयोगसँगै लामो दूरीको यात्राका लागि पनि उपयुक्त हुने देखिन्छ।
भारतीय बजारमा सिएरा ईभीले महिन्द्रा एक्सईभी ९ई, बीई ६, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी, हुन्डाई क्रेटा इलेक्ट्रिक र भिनफास्ट भीएफ ७ जस्ता विद्युतीय एसयूभीसँग प्रतिस्पर्धा गरिरहेको छ।
नेपालमा यसको प्रवेशसँगै प्रिमियम विद्युतीय एसयूभीको बजारमा प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ। अब नाडा अटो शोमा नेपाली ग्राहकले सिएरा ईभीलाई प्रत्यक्ष रूपमा हेर्न पाउनेछन्।
तर नेपाली बजारमा यसको सफलता भने कुन भेरियन्ट उपलब्ध हुन्छ र मूल्य कति निर्धारण गरिन्छ भन्नेमा निर्भर हुनेछ। लामो रेन्ज, प्रिमियम डिजाइन, उच्च प्रदर्शन र आधुनिक फिचरका कारण सिएरा ईभी नाडा अटो शोको चर्चित इलेक्ट्रिक एसयूभी बन्ने सम्भावना बलियो देखिन्छ।






















प्रतिक्रिया