बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयवासी आक्रोशित भएका छन्। प्रहरीले समयमै बालिकाको खोजी नगरेको आरोप लगाउँदै स्थानीयले वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गरेका छन्।

घटनाप्रति आक्रोशित स्थानीयले बालिकालाई न्याय दिनुपर्ने, घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने तथा घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे छानबिन गर्नुपर्ने माग गरेका छन्।

बालिकाको शव फेला परेपछि स्थानीयवासीले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यसैबीच, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयको प्रदर्शनका कारण वीरगन्ज–पथलैया सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। घटनालाई लिएर स्थानीयस्तरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
























प्रतिक्रिया