दुर्गा प्रसाईंको घरमै प्रहरी चौकी राखौँ’ भन्दै ज्ञानेन्द्र शाहीको प्रश्न


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले छापा मारेको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारमाथि प्रश्न उठाएका छन्।

उनले वाइडबडी, एनसेल, मेलम्ची, ओम्नीलगायतका ठूला घोटाला तथा भ्रष्टाचारका प्रकरणमा जोडिएका भनिएका व्यक्तिहरूमाथि प्रभावकारी कारबाही हुन नसकेको तर प्रहरीले पटक–पटक दुर्गा प्रसाईंको घरमा पुग्ने गरेको भन्दै गृहमन्त्रीसँग प्रश्न गरेका हुन्।

‘यो देशको सबैभन्दा ठूलो अपराधी दुर्गा प्रसाईं नै रहेछन् कि क्या हो, गृहमन्त्रीज्यू?’ भन्दै शाहीले प्रश्न गरेका छन्।

उनले व्यंग्य गर्दै भनेका छन्, ‘अब प्रहरी साथीहरूलाई साँच्चै दुर्गा प्रसाईंको घर जानै यति फुर्सद हुन्छ भने एउटा काम गरौँ—प्रहरी चौकी नै दुर्गा प्रसाईंको घरभित्र स्थापना गरौँ।’

शाहीले सरकारको प्राथमिकता र प्रहरीको कारबाहीको शैलीमाथि समेत प्रश्न उठाउँदै ठूला भ्रष्टाचारका प्रकरणमा जोडिएका भनिएका व्यक्तिमाथि पनि निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्ने धारणा राखेका छन्।