भोटेकोशीमा बाढीको जोखिम बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


काठमाडौं । माथिल्लो क्षेत्रमा भोटेकोशी नदीमा बाढी आएको सूचना प्राप्त भएपछि नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीका कारण जोखिम बढ्न सक्ने भन्दै रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपासका नदी–खोला किनार तथा तल्लो भूभागका बस्तीमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरिएको हो।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोला किनारमा नबस्न र जोखिमयुक्त स्थानमा रहेकाहरूलाई तत्काल सुरक्षित तथा उच्च स्थानतर्फ सर्न आग्रह गरिएको छ।

यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिन र परिवार, छिमेकी तथा आसपासका नागरिकलाई समेत जोखिमबारे जानकारी गराउन आग्रह गरिएको छ।

सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।

सम्भावित बाढी तथा डुबानको जोखिमबाट जोगिन सबै नागरिकलाई सतर्क रहन र आवश्यक अवस्थामा सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।