भारी बाढीले नुवाकोटमा वितण्डा, दर्जनौँ भौतिक संरचना प्रभावित


नुवाकोट । रसुवाको सीमा क्षेत्रबाट आएको भीषण बाढीले नुवाकोटका विभिन्न तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार बाढीले बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटका बजार क्षेत्रमा क्षति पुर्‍याएको छ। बाढी बजार क्षेत्रमै पसेकाले तटीय क्षेत्रमा बढी असर परेको उनले बताए।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि भौतिक संरचनामा ठूलो क्षति भएको प्रशासनले जनाएको छ। क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ।

प्रशासनले त्रिशूली र बेत्रावती नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।