धनगढी । कैलालीमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गराएको घटना सार्वजनिक भएको छ। लम्कीचुहा निवासी दीपक सुनारको हत्या उनकी श्रीमती एमुना सुनार र उनका प्रेमी दुर्योधन सुवर्णकारको योजनामा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउन २१ गते टीकापुरको एक होटलमा एमुना र दुर्योधनले हत्याको योजना बनाएका थिए। त्यसपछि एमुनाले दीपकलाई ‘घुम्न जाने’ बहानामा स्कुटीमा अमरावती सामुदायिक वनतर्फ लगेको र त्यहाँ सहयोगीहरूले हतियार प्रहार गरी हत्या गरेको खुलेको छ। हत्या पछि शव कर्णाली नदीमा फालिएको प्रहरीको भनाइ छ।
साउन २२ गते जंगलमा रगत, मासुका टुक्रा, दाँत, चप्पल, हेलमेटलगायत शंकास्पद वस्तु भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। घटनास्थलबाट संकलित रगत मानवको भएको पुष्टि भएपछि अनुसन्धान मृतकको पहिचानतर्फ केन्द्रित भएको थियो।
घटनापछि एमुना स्वयं श्रीमान् हराएको भन्दै प्रहरीमा पुगेकी थिइन्। अनुसन्धानका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एमुना, दुर्योधनसहित रामराजेश महतो, बीरेन्द्र राना र भीम राना छन्। प्रहरीले हत्या गर्न रकम दिने सहमति भएको प्रारम्भिक निष्कर्ष निकाले पनि रकम कति थियो भन्नेबारे अनुसन्धान जारी रहेको जनाएको छ।




















प्रतिक्रिया