काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यका विषयमा छलफल भएको हो।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज, उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।
सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताए। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई निर्देशन दिइसकिएको जानकारी गराए।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको सरकारले जनाएको छ।





















प्रतिक्रिया