काठमाडौँ — बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
बुधबार आएको बाढीका कारण देशका विभिन्न क्षेत्रमा विपद्को अवस्था सिर्जना भएपछि सरकारसँगै प्रतिनिधि सभाका सदस्यहरू पनि उद्धार तथा राहत कार्यमा खटिनुपर्ने भएकाले बैठक स्थगित गरिएको सचिवालयले जनाएको हो।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशानुसार बैठक स्थगित गरिएको महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।
यसैबीच, बाढीका कारण रसुवा, नुवाकोट र धादिङका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। नदीमा आएको बाढीले तटीय बस्ती, सडक तथा भौतिक संरचनामा समेत असर पुर्याएको छ।
विपद्को अवस्था गम्भीर बन्दै गएपछि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्र उद्धार र राहत कार्यमा परिचालित भएका छन्। प्रतिनिधि सभा बैठकसमेत स्थगित भएपछि सांसदहरूलाई प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन सहज हुने अपेक्षा गरिएको छ।























प्रतिक्रिया