रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४सम्पर्कविहीन भएका छन् ।


महेन्द्रनगर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्तका ६, बेलौरीका ३, कृष्णपुरका ५, शुक्लाफाँटाका ७, लालझाडीका १ र बेदकोटका २ जना सम्पर्कविहीन छन्।

उनीहरूका आफन्तले खोजी तथा उद्धारका लागि प्रहरीमा जानकारी गराएका छन्। सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत मजदुर छन् भने नेपाली सेना, नेपाल प्रहरी तथा भन्सार र वन कर्मचारीसमेत रहेका छन्।

प्रहरीले सम्पर्कविहीन नागरिकको विवरण सङ्कलन गरी खोजी तथा उद्धारका लागि प्रहरी प्रधान कार्यालयमा पठाएको जनाएको छ। यस्तै, डडेल्धुराका एक र बैतडीका दुई जनाका आफन्तले समेत खोजीका लागि प्रहरीमा जानकारी गराएका छन्।

यसैबीच, टिमुरे भन्सार कार्यालयमा कार्यरत भीमदत्त–१३ बडैपुरका नरेश दत्त जोशी पनि सम्पर्कविहीन छन्। आफन्तका अनुसार बुधबार बिहान ७ः३० बजे उनीसँग अन्तिमपटक फोनमा कुरा भएको थियो।