भोटेकोशी बाढीमा हुम्लाका १० जना सम्पर्कविहीन


हुम्ला । रसुवाको उत्तरी क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रोजगारीका लागि त्यहाँ पुगेका हुम्लाका १० जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार सम्पर्कविहीन हुनेमा आठ पुरुष र दुई महिला छन्। उनीहरू हुम्लाका विभिन्न गाउँका बासिन्दा हुन्।

खार्पुनाथ–१ का जनक बुढा, अनिता रावत, उमेश बोहोरा, उनकी श्रीमती र छोरा, ताँजाकोट–२ का नहकुल शर्मा र धनराज जैसी, सर्केगाड–८ का तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली–१ का मनजित बुढा सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार मनजित बुढाले बाढी आएको केही समयपछि आफूहरू सुरक्षित रहेको आशयको फेसबुक पोस्ट गरेका थिए। त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेको छैन।

सम्पर्कविहीन नागरिकको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कर्णाली प्रदेश सरकारले जनाएको छ।