प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा नुवाकोट प्रस्थान


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्।

हिजो रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आएका छन्।

बाढी आएलगत्तै प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका थिए। साथै, प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर जानकारी लिँदै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहजीकरण गर्दै आएका छन्।

बाढीका कारण विभिन्न स्थानमा क्षति पुगे पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग तत्काल राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने बताइएको छ।