जलवायु विपद्सँग जुध्न नेपाल–भारत–चीन सहकार्य आवश्यक : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा : आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा बोल्दै लामिछानेले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौनधारणको आग्रह गरे।

उनले बाढीका कारण भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताउँदै उद्धार तथा राहतका काममा सरकार, सुरक्षा निकाय र स्थानीय समुदाय सक्रिय रहेको जानकारी दिए। विपद्को समयमा स्थानीय समुदाय नै पहिलो उद्धारकर्ता बन्ने गरेको उल्लेख गर्दै उनले उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीप्रति आभार व्यक्त गरे।

लामिछानेले भारतसहित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति देखाएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरी समवेदना व्यक्त गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा उनले आभार व्यक्त गरे।

बाढीको प्रभाव नेपालमा मात्र सीमित नभई सीमापार चीनसम्म परेको उल्लेख गर्दै लामिछानेले हिमाली क्षेत्रमा हुने विपद् कुनै एक देशको समस्या नभएको बताए।

उनले भने, “नेपाल, भारत र चीन तीन देश हुन्, तर हामी एउटै हिमाली प्रणालीमा छौँ। हाम्रा नदीहरू एउटा सीमाभन्दा माथि सुरु भएर अर्को सीमाभन्दा तल पुग्छन्।”

जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमताल बन्ने तथा अचानक बाढी आउने जोखिम बढिरहेको भन्दै उनले तीन देशबीच पूर्वसूचना प्रणाली विकास, जोखिमसम्बन्धी तथ्यांक तत्काल आदानप्रदान र विपद् व्यवस्थापनमा सहकार्य आवश्यक रहेको बताए।

“जलवायु परिवर्तन भइसकेको अवस्थामा अब हामीले अनुकूलनका योजना बनाउनुपर्छ,” लामिछानेले भने, “हिमनदी पग्लिन वा हिउँ खस्नबाट रोक्न नसकिएला, तर त्यसबाट हुने विपद्बारे आश्चर्यचकित हुनबाट आफूलाई रोक्न सक्छौँ।”

प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न सके विपद्को जोखिममा रहेका परिवारलाई ज्यान जोगाउन निर्णायक समय उपलब्ध गराउन सकिने उनको भनाइ थियो। उनले प्रभावित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै देश शोकमा रहेको बताए। साथै, विपद्का बेला नेपाललाई सहयोग र समर्थन गर्ने विश्वभरका नेता, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय निकायप्रति धन्यवाद व्यक्त गरे।