विनाशकारी बाढीबीच अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित कुल ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

प्रतिकूल मौसम, बाढीको तीव्र बहाव र अत्यन्त जोखिमपूर्ण परिस्थितिका बीच नेपाली सेनाको टोलीले टनेलभित्र फसेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो। उद्धार अभियान अझै जारी रहेको र टनेलभित्र रहेका १०० जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित बाहिर निकाल्न सेना परिचालित रहेको जनाइएको छ।

टनेलभित्रको जटिल उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।

त्यसैगरी, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा समेत नेपाली सेनाले उद्धारलाई तीव्रता दिएको छ। सीक्यूआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा परिचालित १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशी लगायतका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।

नेपाली सेनाका अनुसार २०८३ भदौ ११ गते मात्रै रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट स्थानीय तथा मजदुर गरी कुल ८८३ जनाको उद्धार गरिएको हो। उच्च जोखिमका बीच नेपाली सेनाको निरन्तर उद्धार प्रयासले ठूलो मानवीय क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ।