भोटेकोशी र त्रिशूली नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः पानीको बहाव बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले यही भदौ १० गते भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण प्रभावित क्षेत्रमा आज पुनः बाढीको जोखिम बढेको जनाएको हो। भोटेकोशी नदीमा पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

प्राधिकरणले भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति तथा विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान विशेष अनुरोध गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा यस्तो आग्रह गरिएको हो।

सम्बन्धित सबैले नदीको बहाव तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई ध्यान दिई आवश्यक सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।