काठमाडौं । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।
अल अमेरातस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो। नेपालका बलरले सुरुदेखि नै दबाब बनाएपछि ओमानले नियमित अन्तरालमा विकेट गुमाएको थियो।
ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ओमानले १२औँ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो। त्यसपछि शुक्ला र जय ओडेराले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। ओडेरा २५ रन बनाएर आउट भए पनि शुक्लाको प्रयास ओमानलाई जिताउन पर्याप्त भएन।
नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए। यादवले ६ ओभरमा १२ रन मात्र खर्चिए भने सन्दीपले नौ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे।
अर्जुन कुमालले ४० रन बनाउँदा बसिर अहमद र इशान पाण्डेले समान ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। अन्त्यतिर करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले १६ बलमा ४० रन बनाए। करणले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए भने अन्तिम ओभरमा शाह फैसलको बलमा पनि छक्का हिर्काए।
ओमानका लागि शाह फैसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए भने हस्नेन शाहले एक विकेट हात पारे।
यस जितसँगै नेपालले शृङ्खलामा लगातार दोस्रो सफलता हात पारेको छ। लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।
नेपालले शृङ्खलाको आफ्नो अर्को खेल आगामी शनिबार क्यानडासँग खेल्नेछ। ओमानमाथिको फराकिलो जितले नेपाललाई आगामी खेलका लागि थप आत्मविश्वास दिलाएको छ।

















प्रतिक्रिया