काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापन कार्यमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढेपछि नेपाली सेनाले आफ्नो अपरेसन थप तीव्र बनाएको छ।
शव संकलन तथा खोजी कार्य ढिलो भएको गुनासोलाई गम्भीरताका साथ लिँदै नेपाली सेनाले विशेष टोली परिचालन गरी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा धमाधम खोजी र शव संकलन गरिरहेको जनाएको छ।
बाढीले बगाएर तल्लो तटीय क्षेत्रसम्म पुर्याएका शवको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्म त्रिशूली र नारायणी नदी किनारका सम्भावित क्षेत्रमा आज थप १ हजार २ सय सैनिक जनशक्ति परिचालन गरिएको छ।

सेनाले प्रभावित क्षेत्रसँगै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानमा टोलीगत रूपमा जनशक्ति खटाएर शव खोजी तथा संकलनलाई उच्च प्राथमिकतामा राखेको छ।
यसअघि बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १ हजार ६ सय जनशक्ति परिचालन गरेको थियो। थप १ हजार २ सय सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव खोजी तथा संकलनका लागि परिचालित नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ।
नदीमा तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद सैनिक टोलीले सम्भावित स्थानमा निरन्तर खोजी गरिरहेको छ। बाढीपछि बेपत्ता नागरिकको अवस्था पत्ता लगाउने र फेला परेका शवको व्यवस्थित संकलन तथा व्यवस्थापन गर्ने कार्यलाई सेनाले प्राथमिकताका साथ अघि बढाएको छ।






















प्रतिक्रिया