चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा


काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।

कार्यक्रमअन्तर्गत तत्काल राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका योजना अघि बढाइने भएको छ।

चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने जनाएको छ। राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्‍याउन थालिएको छ।

त्यसैगरी, स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिने भएको छ। शिविरमा प्रभावित नागरिकलाई दैनिक भोजनका साथै बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी र सरसफाइको व्यवस्था गरिनेछ।

चौधरी फाउन्डेसन र नबिल बैंकले धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने जनाएको छ।

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ। सरकार तथा स्थानीय सरकारसँगको सहकार्यमा निर्माण गरिने यी आवास स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित र सम्मानजनक बसोबास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिनेछ।

यस्तै, दीर्घकालीन योजनाअन्तर्गत प्रभावित समुदायमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न धुलिखेल अस्पतालसँग सहकार्य गरिने भएको छ। केन्द्रमार्फत रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना र विपद्पछि फैलिन सक्ने संक्रामक रोग नियन्त्रणका लागि संस्थागत क्षमता विकास गरिनेछ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता जीवन रक्षा गर्दै प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा र सम्मान सुनिश्चित गर्नु रहेको बताएका छन्।

उनले उद्धार तथा राहतमा मात्र सीमित नभई अस्थायी आवास, स्थायी पुनर्स्थापना र जनस्वास्थ्य तयारीसम्मको यात्रामा संस्था प्रतिबद्ध रहेको बताए।

चौधरी फाउन्डेसन र नबिल बैंकका अधिकारीहरूले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरी सबैभन्दा बढी प्रभावित र जोखिममा रहेका परिवारसम्म राहत तथा सहायता पारदर्शी र प्रभावकारी रूपमा पुर्‍याउने बताएका छन्।

संस्थाले प्रभावित समुदायको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले गरेको शीघ्र र सक्रिय पहलप्रति आभार व्यक्त गर्दै राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सरकारसँग आवश्यक समन्वय र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।