काठमाडौं । बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै उद्धार प्रयासलाई तीव्रता दिएको छ।
अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा ६ सदस्यीय उच्च दक्ष चिनियाँ प्राविधिक विज्ञ टोली समेत घटनास्थलमा परिचालन गरिएको छ।
चिनियाँ हेलिकप्टरमार्फत टोली त्रिशूली क्षेत्रमा अवतरण गरेको हो। टोलीले नेपाली सेनाको विज्ञ समूहसँग समन्वय तथा सहकार्य गर्दै सुरुङभित्रको अवस्थाबारे प्राविधिक ‘रेकी’ (अनुगमन) गरी उद्धारको सम्भाव्यता अध्ययन गर्नेछ।
प्रारम्भिक प्राविधिक अनुगमनबाट सुरुङभित्र फसेकाहरूको उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थलमा बोलाउने तयारी गरिएको छ।
सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण रहेकाले उद्धार कार्यमा प्राविधिक तथा भौगोलिक जटिलता देखिएको छ। यद्यपि, नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको संयुक्त प्रयासमा सुरुङभित्र फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न हरसम्भव प्रयास जारी रहेको जनाइएको छ।
उद्धार टोलीले सुरुङको भित्री अवस्था, पानीको बहाव, पहुँचको सम्भावना तथा अन्य प्राविधिक जोखिमको मूल्याङ्कन गर्दै सुरक्षित उद्धारका लागि आवश्यक रणनीति तय गर्नेछ।





















प्रतिक्रिया