परराष्ट्रमन्त्री खनालले सिङ्गापुरका विदेशमन्त्रीसँग गरे फोनवार्ता


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेशमन्त्री डा. भिभियन बालकृष्णनबीच बाढी–पहिरोबाट भएको क्षतिबारे टेलिफोन वार्ता भएको छ।

वार्तामा सिङ्गापुरका विदेशमन्त्री बालकृष्णनले विपद्मा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन्। उनले नेपालको आवश्यकताअनुसार मानवीय सहायता उपलब्ध गराउन सिङ्गापुर तयार रहेको बताए।

सिङ्गापुरले उद्धार तथा राहतमा सहयोग पुर्‍याउन विपद् पीडित पहिचान टोली र ड्रोन उपलब्ध गराउने तयारी गरेको छ।

परराष्ट्रमन्त्री खनालले नेपालमा भइरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासबारे जानकारी दिँदै सहयोग र ऐक्यबद्धताका लागि सिङ्गापुर सरकार तथा जनताप्रति आभार व्यक्त गरेका छन्।