काठमाडौँ । केही हप्तादेखि मत्थर देखिएको इरान र अमेरिकाबीचको सैन्य तनाव पुनः चर्किएको छ । अमेरिकाले इरानको लाराक द्वीपमा आक्रमण गरेपछि इरानले पनि अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ ।
आइतबार अमेरिकाले स्ट्रेट अफ होर्मुजमा पर्ने लाराक द्वीपमा इरानी प्रक्षेपण प्रणालीलाई लक्षित गरी आक्रमण गरेको थियो । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ बिछ्याउने तयारी गरिरहेका इरानी रिभोलुसनरी गार्ड्सका सदस्यहरूलाई लक्षित गर्दै सीमित तथा सटीक कारबाही गरिएको हो ।
अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्ये दुई जना रिभोलुसनरी गार्ड्सको नौसैनिक दस्ताका सदस्य रहेको बताइएको छ ।
यसको जवाफमा इरानले सोमबार राति जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्लो घटनाक्रमपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले कुनै पनि आक्रमणको जवाफ कडा रूपमा दिइने बताएका छन् । इरान सैन्य रूपमा कमजोर भइसकेको दाबी गर्दै उनले आवश्यक परे थप आक्रमण हुन सक्ने संकेतसमेत दिएका छन् ।
इरानका एक वरिष्ठ अधिकारीले भने पछिल्लो घटनालाई सीमित र नियन्त्रणमा रहेको सैन्य भिडन्तका रूपमा व्याख्या गरेका छन् । तर अमेरिकाले पुनः आक्रमण गरे त्यसको कडा जवाफ दिने चेतावनी तेहरानले दिएको छ ।
खार्ग द्वीपबारे ट्रम्पको दाबीमा प्रश्न
पछिल्लो तनावकै क्रममा ट्रम्पले सामाजिक सञ्जालमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपमा ठूलो विस्फोट भएको देखाउने भिडियो सार्वजनिक गर्दै द्वीप ध्वस्त पारिएको दाबी गरेका थिए ।
तर ती भिडियो वास्तविक घटनाका नभई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार पारिएको देखिएको छ । खार्ग द्वीपमा त्यस्तो ठूलो आक्रमण भएको पुष्टि गर्ने विश्वसनीय प्रमाणसमेत भेटिएको छैन ।
इरानले ट्रम्पको दाबीलाई हास्यास्पद भन्दै आलोचना गरेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने सामाजिक सञ्जालमार्फत सन्देश दिन खोजिएको भन्दै ट्रम्पको बचाउ गरेका छन् ।
स्ट्रेट अफ होर्मुजमा बढ्दो तनाव
लाराक द्वीप स्ट्रेट अफ होर्मुजमा पर्ने महत्वपूर्ण क्षेत्र हो । इरानले आफ्नो तेल निर्यातका लागि प्रयोग गर्ने यो क्षेत्रमा पछिल्लो समय सैन्य तनाव बढ्दै गएको छ ।
इरानी सरकारी टेलिभिजनले स्ट्रेट अफ होर्मुजको दक्षिणी क्षेत्रमा समुद्री सुरुङसँग ठोक्किएपछि एउटा ठूलो तेल ट्यांकरमा आगलागी भएको दाबी गरेको थियो । तर अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गरेको छ ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक भएकाले यहाँको सैन्य तनावले अन्तर्राष्ट्रिय बजारमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ ।
सैन्य कारबाहीसँगै आर्थिक दबाब पनि बढाउँदै अमेरिका
अमेरिकाले इरानमाथि सैन्य दबाबसँगै आर्थिक प्रतिबन्धलाई पनि थप कडा बनाउँदै आएको छ । इरानको तेल खरिद गर्ने तेस्रो देशका कम्पनी तथा संस्थालाई समेत लक्षित गर्दै अमेरिकाले दोस्रो तहका प्रतिबन्ध विस्तार गरिरहेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार पछिल्लो प्रतिबन्धको असर इरानी अर्थतन्त्रमा देखिन थालेको छ । उनले आगामी केही हप्तामा इरानका बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै थप प्रतिबन्ध घोषणा हुन सक्ने बताएका छन् ।
अमेरिकी पक्षले आर्थिक दबाब बढेपछि इरानले त्यसको प्रतिक्रिया सैन्य रूपमा दिन थालेको दाबी गरेको छ ।
इरान अझै वार्ताको पक्षमा
सैन्य तनाव बढे पनि इरानले भने वार्ताको ढोका बन्द नगरेको संकेत दिएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले युद्धको अन्त्य वार्तामार्फत खोज्नुपर्ने बताएका छन् ।
किर्गिस्तानमा क्षेत्रीय सुरक्षा बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा पेजेस्कियानले युद्ध जारी राख्नु इरान, क्षेत्र र मानवताकै हितमा नरहेको बताएका थिए । तेहरान अझै सहमति र समझदारीको बाटो खोज्ने पक्षमा रहेको उनको भनाइ थियो ।
यसअघि अमेरिकाले इरानमाथि सैन्य कारबाही गरेपछि केही समयका लागि युद्धविराम र वार्ताको प्रयास भएको थियो । तर सहमति दीर्घकालीन बन्न सकेन । पछिल्लो समय अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी तथा आर्थिक दबाब बढाउँदै आएको छ भने इरानले स्ट्रेट अफ होर्मुज आफ्नो निगरानीमा रहेको दाबी गर्दै आएको छ ।
युद्धको लक्ष्य अझै अधुरै
इरानमाथि अमेरिकी सैन्य अभियान सुरु गर्दा ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रम ध्वस्त पार्ने, क्षेत्रीय प्रतिद्वन्द्वीमाथि आक्रमण गर्ने उसको क्षमता कमजोर बनाउने र इरानको धार्मिक शासनविरुद्ध जनविद्रोहका लागि परिस्थिति सिर्जना गर्ने लक्ष्य अघि सारेको थियो ।
तर पछिल्ला घटनाक्रमले तीमध्ये सबै उद्देश्य पूर्ण रूपमा हासिल भइसकेका छैनन् भन्ने देखाएको छ । एकातिर अमेरिका इरानमाथि आर्थिक तथा सैन्य दबाब बढाइरहेको छ भने अर्कोतर्फ तेहरानले पनि अमेरिकी कारबाहीको जवाफ दिने चेतावनी दिँदै आएको छ ।
यसले केही समयदेखि नियन्त्रणमा रहेको देखिएको इरान–अमेरिका द्वन्द्व फेरि व्यापक सैन्य संघर्षतर्फ जाने जोखिम बढाएको छ ।





















प्रतिक्रिया