देशभरका प्रमुख नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान


काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मंगलबार देशभरका प्रमुख नदी तथा साना खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ।

विशेषगरी नुवाकोट र रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोटेकोसी र त्रिशूली नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन भनिएको छ।

महाशाखाका अनुसार आगामी तीन दिन प्रमुख नदीहरूमा पानीको सतह उल्लेख्य बढ्न सक्छ। त्रिशूलीको बेत्रावती क्षेत्रमा जलसतह बढ्ने सम्भावना रहेको छ भने अन्य प्रमुख जलाधारमा पनि बहाव बढ्ने अनुमान गरिएको छ।

आज विभिन्न जिल्लाका साना नदीमा मध्यम बाढीको जोखिम रहेकाले नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।