रसुवा बाढीपीडितको राहतमा वीरेन्द्रनगरको ५१ लाख सहयोग


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगरप्रमुख मोहनमाया ढकालका अनुसार मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

नगरपालिकाले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। भोटेकोशी बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले विपद्को समयमा स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख ढकालले बताइन्।

बाढीबाट प्रभावित परिवारको तत्कालीन राहतसँगै पुनःस्थापनामा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ।

यसअघि पनि विभिन्न स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र तथा संघसंस्थाले भोटेकोशी बाढी प्रभावितका लागि राहत तथा आर्थिक सहयोग घोषणा गर्दै आएका छन्। नगरपालिकाले विपद्को समयमा प्रभावित नागरिकको सहयोगमा सबै पक्षबाट हातेमालो आवश्यक रहेको जनाएको छ।