चीनबाट वाई–२० विमानमार्फत काठमाडौं आइपुग्दै सहायता सामग्री


काठमाडौँ । चीनले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि दोस्रो चरणको आपत्कालीन मानवीय सहायता पठाएको छ ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० विशाल ढुवानी विमानमार्फत मंगलबार ग्वाङडोङ प्रान्तको सेन्जेनबाट सहायता सामग्री काठमाडौं पठाइएको हो ।

सिन्ह्वाका अनुसार करिब ५.८ टन सामग्रीमा पानी शुद्धीकरण उपकरण, प्रकाशसम्बन्धी उपकरण, आनुवंशिक परीक्षण उपकरण र ड्रोन रहेका छन् । सहायता सामग्रीसँगै सेन्जेनका पाँच विशेषज्ञ पनि नेपाल आएका छन्, जसले उद्धार तथा राहत कार्यमा सहयोग गर्नेछन् ।

नेपालमा बाढी तथा पहिरोबाट भएको ठूलो क्षतिपछि चीनले थप आपत्कालीन सहायता उपलब्ध गराएको हो ।