काठमाडौँ। भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। आयोजना तथा सुरुङमा कार्यरत ८९८ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले जनाएको छ।
इप्पानका अनुसार रसुवाको अपर त्रिशुली–१ आयोजनामा मात्रै कर्मचारी र मजदुरसहित ३३२ जना सम्पर्कविहीन छन्। नेपाली सेनाले विभिन्न आयोजनाबाट हालसम्म ३६१ जनाको उद्धार गरेको जनाएको छ।
बाढीबाट रसुवाका रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला तथा नुवाकोटका त्रिशुली, देवीघाट, माथिल्लो त्रिशुली–३ ए, माथिल्लो त्रिशुली–३ बी र मिडल त्रिशूली गंगा आयोजना प्रभावित भएका छन्।
सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनासँगै भारत र चीनका टनेल विशेषज्ञ परिचालन भएका छन्। विभिन्न आयोजनाका सुरुङमा डेब्रिज, ढुंगा र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
अपर त्रिशुली–१ को सुरुङमा करिब २०० मिटरभित्रसम्म उद्धारकर्मी पुगेका छन् भने चिलिमे र लाङटाङ खोलाको सुरुङमा पनि खोजी जारी छ। त्रिशुली–३ ए र बी का सुरुङमा वैकल्पिक मार्ग तथा प्रवेशद्वार खोल्ने प्रयास भइरहेको सेनाले जनाएको छ।





















प्रतिक्रिया