अमेरिकी मिसाइलले बिहे घरमा मच्चायो त्रास, ५ जनाको मृत्यु


काठमाडौँ। इरानले दक्षिणी क्षेत्रमा विवाह समारोह भइरहेको एक आवासीय घरमा अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी अधिकारीहरूका अनुसार सिरिक काउन्टीको कुहेस्ताकमा भएको घटनामा बालकसहित कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।

घाइतेमध्ये अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ। उनीहरूलाई मिनाब सहरस्थित अस्पतालमा उपचारका लागि लगिएको छ।

इरानी अधिकारीहरूले घटनालाई क्रूर आक्रमण भनेका छन्। आक्रमणपछि भवनमा क्षति पुगेको र भग्नावशेष छरिएको जनाइएको छ।

अमेरिकाले भने उक्त घरलाई नै लक्षित गरी आक्रमण गरिएको हो वा सैन्य कारबाहीका क्रममा घटना भएको हो भन्नेबारे तत्काल स्पष्ट पारेको छैन।