किसानसँग रकम असुलेर दुई वर्षदेखि वडा अध्यक्ष यादव बेपत्ता


सिरहा । मिर्चैया नगरपालिका–११ सीतापुरका वडा अध्यक्ष चन्द्रदिप कुमार यादवले सिँचाइ बोरिङ जडान गरिदिने भन्दै दर्जनौँ किसानसँग जनही १५ हजार रुपैयाँका दरले रकम असुलेको आरोप लागेको छ।

किसानसँग लाखौँ रुपैयाँ उठाएपछि यादव करिब दुई वर्षदेखि वडा कार्यालयमा नियमित उपस्थित छैनन्। रकम बुझाएका किसानले न बोरिङ पाएका छन्, न पैसा फिर्ता भएको बताएका छन्।

नगर प्रमुख श्रवण यादवले उपभोक्तासँग रकम उठाउने नगरपालिकाको कुनै योजना नभएको भन्दै यस्तो गरिएको भए गलत हुने बताए।

वडा अध्यक्ष यादवले भने किसानसँग रकम लिएको स्वीकार गर्दै आफू गैरसरकारी संस्थाको कारण समस्यामा परेको दाबी गरेका छन्। उनले आफू काठमाडौँमा उपचाररत रहेको र चाँडै फर्किने बताएका छन्।