बाढी–पहिरो पीडित भेट्न पुगे गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढी–पहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न गाउँको स्थलगत भ्रमण गरी पीडितको अवस्थाबारे जानकारी लिएका छन्।

भ्रमणपछि भिडियो सन्देश जारी गर्दै थापाले विपद्को समयमा सरकारको प्रभावकारी नेतृत्व र सबैको सामूहिक ऐक्यबद्धता आवश्यक रहेको बताए। उनले प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिले जोखिम मोलेर गरेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे।

थापाले राहतमा खाद्यान्नसँगै शौचालय, स्वास्थ्य सेवा, नियमित औषधि, सरसफाइका सामग्री, बालबालिकाका लागि अस्थायी कक्षा र मानसिक स्वास्थ्य सेवाको आवश्यकता रहेको बताए।

उनले तीनै तहका सरकारबीच समन्वय गरी आवश्यकताअनुसार राहत पुर्‍याउन संघीय सरकारलाई आग्रह गर्दै प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्ने छुट्टै पोर्टल बनाउन सुझाव दिए।