बाढीमा ज्यान गुमाएकाको शव सङ्कलन सकियो


नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शव खोजी तथा सङ्कलनको प्रारम्भिक चरण नुवाकोटमा पूरा भएको छ।

जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीका अनुसार हालसम्म १७७ शव फेला परेका छन्। तीमध्ये १६ जनाको पहिचान गरी परिवारलाई बुझाइएको छ भने अन्य शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ड्रोन, तालिमप्राप्त कुकुर र हेलिकप्टरको सहयोगमा विभिन्न ३० स्थानमा खोजी गरेको थियो। अब भने पुरिएका तथा ग्रेगर र लेदोले ढाकिएका क्षेत्रमा उत्खनन र खानतलासीमार्फत शव खोजी गरिने प्रहरीले जनाएको छ।

बेत्रावती, सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटलगायतका प्रभावित क्षेत्रमा खोजी केन्द्रित गरिएको छ। प्रहरीले कतै शव देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।