सुरुङभित्र फसेका नागरिकको उद्धारबारे प्रधानमन्त्रीले कुलमानसँग लिए जानकारी


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा रसुवाको भोटेकोशी बाढीबाट ऊर्जा क्षेत्रमा पुगेको क्षति तथा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारबारे छलफल भएको घिसिङले जानकारी दिए।

प्रधानमन्त्री शाहले सुरुङभित्र फसेकाहरूको उद्धार कसरी गर्न सकिन्छ र त्यसका लागि प्रविधि तथा उपकरणको अवस्था कस्तो छ भन्नेबारे चासो राखेको उनले बताए।

घिसिङका अनुसार सुरुङभित्रको लेदो र गेग्रान हटाउन आवश्यक मेसिन घटनास्थलसम्म पुर्‍याउन नसक्नु मुख्य चुनौती हो। बाढीले सडक र पुल बगाएका कारण जेसीबी, एस्काभेटर तथा ड्रिलिङ मेसिन लैजान समस्या भएको उनले बताए।

घिसिङले बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन बन्द रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन्। त्यसमध्ये करिब १६५ मेगावाट उत्पादन एक–दुई महिनाभित्र पुनः सञ्चालन गर्न सकिने उनको भनाइ छ।

उनले क्षतिग्रस्त जलविद्युत् आयोजनाको बीमा भुक्तानी सहज बनाउन, निजी ऊर्जा प्रवर्द्धकलाई राहत प्याकेज दिन तथा सडक र पुलको तत्काल पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

भविष्यमा यस्ता विपद्बाट जोगिन जलविद्युत् आयोजना र सडक निर्माण गर्दा जलवायु परिवर्तन तथा ठूलो बाढीको जोखिमलाई ध्यानमा राख्नुपर्ने सुझावसमेत घिसिङले प्रधानमन्त्रीलाई दिएका छन्।