बाँके । धानमा गाँज लाग्ने समयमै रासायनिक मलको अभाव भएपछि बाँकेका किसान उत्पादन घट्ने चिन्तामा परेका छन्। यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरेका किसानले आवश्यक समयमा मल नपाएको गुनासो गरेका छन्।
खजुरा–२ सीतापुरका किसान भद्रप्रसाद देवकोटाले धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भए पनि नपाउँदा उत्पादन प्रभावित हुने बताए। उनका अनुसार यसअघि भारतको रुपैडिहाबाट समेत मल ल्याउने गरे पनि यसपटक नाकाबाट मल ल्याउन नदिँदा समस्या झन् बढेको छ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार धान रोपेको २० देखि २५ दिनमा गाँज लाग्ने र करिब ५० दिनपछि बाला पसाउने भएकाले यी चरणमा मल आवश्यक पर्छ। सूचना अधिकारी सुजिता शर्माले समयमै मल नपाउँदा धान उत्पादनमा ३० देखि ५० प्रतिशतसम्म कमी आउन सक्ने बताइन्।
यस वर्ष बाँकेमा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। गत वर्ष जिल्लामा करिब १ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका अनुसार चालु आर्थिक वर्षको भदौ १५ गतेसम्म स्थानीय तहमा १ हजार १७ मेट्रिक टन युरिया, २९९ दशमलव ४ मेट्रिक टन डीएपी र २७ दशमलव ३५ मेट्रिक टन पोटास पठाइएको छ। तर किसानको मागअनुसार मल उपलब्ध हुन नसक्दा जिल्लाका अधिकांश क्षेत्रमा अभाव देखिएको छ।



















प्रतिक्रिया