बाजुरामा भारी वर्षाको असर, सडक–विद्युत् सेवा अवरुद्ध


धनगढी । अविरल वर्षासँगै आएको बाढी र पहिरोले बाजुराको जनजीवन प्रभावित भएको छ। जिल्लाका विभिन्न क्षेत्रमा भौतिक क्षति हुनुका साथै यातायात र विद्युत् सेवा अवरुद्ध भएका छन्।

गौमुल र बडीमालिका क्षेत्रमा पहिरोले घर तथा गोठमा क्षति पुर्‍याएको छ। पहिरोको जोखिममा रहेका विरेखोलाका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

साफे–मार्तडी सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात ठप्प छ। सडक विभागले डोजर परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेको छ।

पहिरोले विद्युत्का पोल ढालेपछि मार्तडी र आसपासमा विद्युत् सेवा पनि बन्द भएको छ। प्रशासनले उद्धार, सडक र विद्युत् मर्मतका लागि कमाण्ड पोस्टमार्फत काम अघि बढाएको जनाएको छ।

वर्षा रोकिए पनि थप पहिरोको जोखिम कायमै रहेकाले प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।