काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण सम्पन्न भएपछि असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न भइसकेको छ।
आइतबार निर्माणको प्रगति परीक्षण गर्न केही सवारीसाधन नयाँ ट्र्याकबाट गुडाइएको थियो। परीक्षण सफल भए पनि अहिले ट्र्याक सर्वसाधारणका लागि खुला गरिएको छैन।
करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ। सडकसँगै नालीको संरचनासमेत तयार पारिँदैछ। हाल नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी ग्राभेलिङ गर्ने तथा सडकको किनारमा ड्रेन निर्माण गरी पाइप राख्ने काम भइरहेको छ।
निर्माणको प्रारम्भिक चरणमा ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना मजदुर तथा ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन्।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार ग्रेडिङ सम्पन्न भएपछि नयाँ ट्र्याकको फिनिसिङको काम भइरहेको बताए।
उनले परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको स्पष्ट पार्दै नयाँ ट्र्याक अहिले सर्वसाधारणका लागि खुला नरहेको बताए।
“परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको हो। सर्वसाधारण नयाँ ट्र्याक खुला भएको भ्रममा नपर्नुहोस्,” मिश्रले भने।
निर्माणका क्रममा थप पहिरो वा अन्य समस्या नआएमा असोज १ गतेदेखि नयाँ ट्र्याकबाट नियमित यातायात सञ्चालन गर्ने योजना रहेको सडक आयोजनाले जनाएको छ। तर कृष्णभीर क्षेत्र अझै जोखिमयुक्त रहेकाले निर्माण सम्पन्न नभएसम्म यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।


















प्रतिक्रिया