आमालाई ६ महिना र बाबुलाई ४२ दिन प्रसूति बिदा दिने


काठमाडौं – सरकारले आमालाई ६ महिना र बाबुलाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था गर्न लागेको छ ।

हाल आमालाई ९० दिन र बाबुलाई १५ दिन दिइँदै आएको बिदा बढाएर क्रमशः ६ महिना र ४२ दिन पुर्‍याउने प्रस्ताव गरिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भइसकेको छ । अब विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा लैजाने तयारी मन्त्रालयले गरेको छ ।

प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा तथा बाबुलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था राखिएको मन्त्री गौतमले बताइन् ।

उनका अनुसार मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु तथा परिवारसँग पर्याप्त समय बिताउने अवसर दिनु राज्यको जिम्मेवारीसमेत हो ।

बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभई बाबु र आमाको साझा दायित्व भएको मन्त्री गौतमले बताइन् ।

व्यस्त जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला अभिभावकलाई बच्चाको सुरुवाती विकास र हेरचाहमा पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले बिदा बढाउने प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।