फर्पिङबाट लागुऔषध बरामद, दुई जना पक्राउ


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको कौनेडा गाउँपालिका–७ का १८ वर्षीय अबिन्द्र कुमार यादव र १८ वर्षीय अमरेश कुमार यादव रहेका छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको उनीहरू सवार बागमती प्रदेश–०१–००७ ख १५९० नम्बरको गाडी फर्पिङमा चेकजाँच गर्ने क्रममा प्रहरीले २१० ट्याब्लेट निट्जासेन र १६८ ट्याब्लेट पीभोन स्पास प्लस बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरी वृत्त कीर्तिपुरले लागुऔषध मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।