काठमाडौँ । उद्योगमन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसहित अघि बढिरहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले उपभोक्ताले भोगिरहेको ग्यास अभावप्रति सरकार गम्भीर रहेको बताए। समस्या समाधानका लागि मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको र दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार नीति बनाउन राष्ट्रिय योजना आयोगसँग समन्वय भइरहेको उनले जानकारी दिए।
मन्त्री साहका अनुसार ग्यास अभावको कारण पहिचान गर्न मन्त्रालयले ‘फिसबोन डाइग्राम’ नामक प्राविधिक विश्लेषण उपकरण प्रयोग गरेको छ। अध्ययनबाट आपूर्ति, कानुन, वितरण प्रणाली, मानव संसाधन, सामाजिक तथा अन्तर्राष्ट्रिय पक्षलगायत विभिन्न कारण एकअर्कासँग जोडिँदा ग्यासको माग र आपूर्तिमा असन्तुलन देखिएको निष्कर्ष निकालिएको छ।
उनले आयातमा निर्भरता, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमताको समस्या, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिण्डर भर्न लाग्ने समयलाई पनि अभावका प्रमुख कारणका रूपमा औँल्याए। कालोबजारी, डिजिटल ट्र्याकिङ प्रणालीको अभाव तथा अन्तरनिकाय समन्वयको कमीले समस्या थप जटिल बनेको उनको भनाइ छ।
तत्काल आपूर्ति सहज बनाउन सरकारले अवरुद्ध कृष्णभीर सडकखण्डको मर्मत गरी सञ्चालनमा ल्याएको मन्त्री साहले बताए। उनका अनुसार बजारको माग धान्न हाल दैनिक आइरहेका करिब १०० बुलेट ग्यासलाई बढाएर १६० बुलेट पुर्याउने विषयमा सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको छ।
मन्त्री साहले ग्यास आपूर्तिलाई आयातको परिमाणमा मात्र सीमित नराखी लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय, रिफिलिङ क्षमता, मूल्य तथा सिलिण्डरको पहिचानलाई एउटै प्रणालीमा आबद्ध गरेर व्यवस्थापन गर्न खोजिएको बताए।



















प्रतिक्रिया