पशु रोग नियन्त्रणका लागि विधेयक राष्ट्रियसभाबाट पारित


काठमाडौँ । ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभाले छलफलपछि उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

विधेयक प्रस्तुत गर्दै मन्त्री चौधरीले सङ्क्रामक पशु रोगको वर्तमान अवस्था र त्यसको नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त नभएको बताइन्। विधेयकले पशुमा फैलिने सङ्क्रामक रोग नियन्त्रणका लागि आवश्यक कानुनी आधार तयार गर्ने उनको भनाइ थियो।

उनले विधायन व्यवस्थापन समितिमा विधेयकमाथि विभिन्न संशोधन प्रस्ताव दर्ता भएको र दफावार छलफलमार्फत विधेयकलाई थप कार्यान्वयनयोग्य बनाइएको जानकारी दिइन्।

विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दङ्गाल, सुरेश आलेमगर, खम्मबहादुर खाती, रामकुमारी झाँक्री, विष्णुबहादुर विश्वकर्मा र सम्झना देवकोटाले धारणा राखेका थिए।

राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराएका छन्।