विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा ३२ कर्मचारी अनुपस्थित भेटिएका छन् ।
सोमबार प्रशासकीय अधिकृत कोवित ढकालको नेतृत्वमा गरिएको अनुगमनमा सडक डिभिजन कार्यालयका प्रमुख नारायण निघुरेसहित २३ कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुपस्थित हुनेमा इन्जिनियरसमेत रहेका छन् ।
त्यस्तै, संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयमा नौ कर्मचारी अनुपस्थित भेटिएका थिए । अनुगमन गरिएका औषधि व्यवस्था विभाग र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा भने सबै कर्मचारी उपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए ।
सरकारी कार्यालयमा कर्मचारी नियमित उपस्थित नहुनेबारे जनगुनासो आएपछि चार कार्यालयमा छड्के अनुगमन गरिएको कोइरालाले बताए । उनका अनुसार दुई कार्यालयमा ठूलो संख्यामा कर्मचारी अनुपस्थित भेटिएका छन् ।
अनुगमनका क्रममा कार्यालयमा उपस्थित नभएका कर्मचारीमाथि प्रचलित नियमअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



















प्रतिक्रिया