काठमाडौँ । असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । उक्त अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’मा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभाव बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा देखिन सक्ने अनुमान छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ । जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन र अत्यावश्यकबाहेक टाढाको यात्रा नगर्न आग्रह गरिएको छ ।
प्राधिकरणले रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त सडक र राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
त्यस्तै, पहिरो तथा बाढीको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा सार्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई आग्रह गरिएको छ ।
अचानक बाढी आउन सक्ने खोला तथा खहरे, नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष चनाखो रहन प्राधिकरणले अनुरोध गरेको छ ।
विपद्सम्बन्धी सहयोगका लागि ११५५, १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ । साथै, मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान तथा पूर्वसूचना नियमित रूपमा हेर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।




















प्रतिक्रिया