यूएन महासभाका लागि प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको अपराह्न ४ः१५ बजेको उडानमार्फत न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन् । महासभामा परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनका क्रममा नेपालका समसामयिक विषय तथा अन्तर्राष्ट्रिय सरोकारका मुद्दा उठाउने तयारी गरिएको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ । यो उनको प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण हो।