नेपालमा विपद्पछि आपत्कालीनदेखि दीर्घकालीन पुनःस्थापनासम्म सहयोग गर्ने जापानको प्रतिबद्धता


काठमाडौं । जापानले नेपालमा हालै भएको विनाशकारी विपद्पछि आपत्कालीन राहतदेखि मध्यम तथा दीर्घकालीन पुनःस्थापनासम्म सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच न्युयोर्कमा भएको भेटवार्तामा विपद्पछिको सहयोग र दुई देशबीचको सम्बन्धबारे छलफल भएको हो ।

भेटमा विदेशमन्त्री मोटेगीले विपद्बाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे । उनले उद्धार तथा राहतमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्दै विपद्को समयमा जापान नेपालसँगै रहेको बताए ।

मोटेगीले जापानले आपत्कालीन राहत सामग्रीसँगै अन्तर्राष्ट्रिय तथा अन्य संस्थामार्फत ३० लाख अमेरिकी डलर बराबरको आकस्मिक अनुदान उपलब्ध गराउने जानकारी दिए । साथै, बेपत्ता व्यक्तिको पहिचानमा सहयोग गर्न विशेषज्ञ टोली तथा डीएनए परीक्षणका उपकरण उपलब्ध गराउने उनले बताए ।

जापानको सहयोग आपत्कालीन चरणमा मात्र सीमित नरहने उल्लेख गर्दै उनले मध्यम तथा दीर्घकालीन पुनःस्थापना र नेपालका आत्मनिर्भर प्रयासमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

परराष्ट्रमन्त्री खनालले विपद्का बेला जापान सरकार र जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरे । उनले बेपत्ता विदेशी नागरिक, विशेषगरी जापानी नागरिकको खोज तथा उद्धारमा नेपाल सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

भेटमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका कार्यक्रमबारे पनि छलफल भएको थियो । मोटेगीले आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।