काठमाडौँ । आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको छ । यसको प्रभाव नेपालमा पर्ने र असोज ९ देखि ११ गतेसम्म विशेष प्रभाव रहने अनुमान गरिएको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार बागमती प्रदेशभन्दा पश्चिमका क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अतिभारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।
लुम्बिनीको दाङदेखि पूर्व नवलपुरसम्म, कर्णालीको पूर्वी भूभाग तथा सुदूरपश्चिमका दक्षिणी पहाडी र तराई क्षेत्रमा पनि वर्षाको प्रभाव देखिने जनाइएको छ ।
बागमतीको चितवन आसपास तथा यसअघि बाढीपहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले समेत थप असर पार्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षको प्रवृत्तिका आधारमा यस वर्ष मनसुन केही दिन ढिलो बाहिरिने सम्भावना देखिएको छ ।



















प्रतिक्रिया