यातायात तथा पारवहन समितिको उपसभापति बने अटोमोबाइल व्यवसायी मेघराज पौडेल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा अटोमोबाइल व्यवसायी मेघराज पौडेल मनोनीत भएका छन्।

महासंघका कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित समितिमा पौडेललाई उपसभापतिको जिम्मेवारी दिइएको हो। यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका गतिविधिलाई प्रभावकारी बनाउन पौडेलको व्यावसायिक अनुभव उपयोगी हुने महासंघले जनाएको छ।

पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशक हुन्। उनी नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको बजार विस्तारको प्रारम्भिक चरणदेखि नै व्यवसायमा सक्रिय रहँदै आएका छन्।

अटोमोबाइल व्यवसायसँगै पौडेल नीतिगत विषयमा समेत सक्रिय छन्। उनले अटोमोबाइल क्षेत्रको कर तथा राजस्व नीति, एसेम्बली उद्योग प्रवर्द्धन, अधिकतम खुद्रा बिक्री मूल्य, स्वदेशी पार्ट्सको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण निर्माणका विषयमा सरकारी निकायसँग पैरवी गर्दै आएका छन्।

नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्थानीय उत्पादन र उद्योगमैत्री नीतिको पक्षमा समेत उनले आवाज उठाउँदै आएका छन्।

समितिको उपसभापतिको जिम्मेवारी पाएसँगै पौडेलको भूमिका अटोमोबाइल क्षेत्रभन्दा बाहिर समग्र यातायात, पारवहन तथा आपूर्ति शृंखलासँग सम्बन्धित नीतिगत विषयमा समेत केन्द्रित हुने महासंघले जनाएको छ।