काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न आग्रह गरेका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पुनले प्रयोगशालाको मूल उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्ने बताए।
नेपालमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा बढे पनि गुणस्तरीय पठनपाठनको अवस्था सन्तोषजनक नरहेको उनको भनाइ थियो। विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री बाँड्ने संस्थाका रूपमा विकास गर्दा यसको मूल उद्देश्य नै कमजोर हुन सक्ने उनले बताए।
मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत अनुसन्धानमा केन्द्रित हुनुपर्ने संस्थाहरू समेत पठनपाठन र डिग्री प्रदान गर्ने दिशामा जानु उचित नभएको बताए। पठनपाठनका लागि मुलुकमा पर्याप्त विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकाले प्रयोगशालाहरूलाई अनुसन्धानमै केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।
‘नेपालमा अहिले धेरै विश्वविद्यालय खोल्ने दौड छ, तर गुणस्तरमा कसैको ध्यान छैन,’ उनले भने, ‘विधि विज्ञान प्रयोगशालाजस्तो अति आवश्यक संस्थालाई शैक्षिक प्रतिष्ठानको रूप दिँदा भोलि यसलाई पूर्ण विश्वविद्यालय बनाउने दबाब सिर्जना हुन सक्छ।’
विधि विज्ञानजस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुनेमा पनि मन्त्री पुनले जोड दिए। प्रयोगशालाबाट आवश्यकताअनुसार पठनपाठनको व्यवस्था गर्न सकिए पनि त्यसलाई विश्वविद्यालयकै स्वरूपमा सञ्चालन गर्न नहुने उनको धारणा थियो।



















प्रतिक्रिया