भारी वर्षाको जोखिमपछि धनकुटाका सडकमा राति सवारी रोक


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनकुटाले असोज ११ गतेसम्म जिल्लाका जोखिमयुक्त सडकमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

मौसम विज्ञान विभागको बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असोज ७ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, कटान, गेग्रान बहाव र डुबानको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइनेछ। भेडेटार–रवि–राँके सडक, मूलघाट–पाँचथर सीमा जोड्ने तमोर करिडोर, भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सडक तथा जोखिमयुक्त भित्री सडकमा यो व्यवस्था लागू हुनेछ।

प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा घरबाट टाढा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित आयोजनालाई उद्धारका लागि तयारी अवस्थामा रहन र जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर तथा लोडर तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

यस्तै, बाढी तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई पूर्वसूचना प्राप्त हुनासाथ सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत आग्रह गरिएको छ। प्रशासनले विपद्का बेला आवश्यक परे सम्बन्धित हटलाइन तथा सुरक्षा निकायका नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।