काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। झापा, सुनसरी, रौतहट र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
झापाको अर्जुनधारा नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४५ वर्षीय साइला माझीको मृत्यु भएको छ। बुधबार राति शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका माझीको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
सुनसरीको इनरुवा नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट साइकलयात्री ५० वर्षीय डिके खानको मृत्यु भएको छ। बुधबार बेलुकी दुर्घटनामा परी गम्भीर घाइते भएका खानको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो। दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचार भइरहेको छ।
रौतहटको गुजरा नगरपालिका–३ मा इभी गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक २० वर्षीय सन्देश यादवको मृत्यु भएको छ। बुधबार भएको दुर्घटनामा गम्भीर घाइते यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अर्का एक घाइतेको उपचार भइरहेको छ भने इभी चालक प्रहरी नियन्त्रणमा छन्।
यसैगरी, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २२ वर्षीय अनिश छुजुको मृत्यु भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका छुजुको उपचारका क्रममा मृत्यु भएको हो।
चारवटै दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



















प्रतिक्रिया