काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनञ्जय रेग्मीले नयाँ मनसुनी प्रणालीको प्रभावबाट हुन सक्ने विपद्बाट नागरिकको जीउधन जोगाउन आवश्यक पूर्वतयारी र प्रतिकार्य योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भारी वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुका साथै जोखिम क्षेत्र पहिचान र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्नुपर्ने बताए।
उनले पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जमिनमा नयाँ चिरा परेको, धसिएको वा फुलेको तथा नयाँ ठाउँमा पानीको मुहान फुटेको जस्ता पहिरोका पूर्वसङ्केतबारे सचेत हुन आग्रह गरे। यस्ता संकेत देखिएमा घरमै बसिरहनुभन्दा समयमै सुरक्षित स्थानमा सर्नुपर्ने उनको भनाइ थियो।
रेग्मीले आगामी केही दिन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाढीको चेतावनीसँगै पहिरोका पूर्वसङ्केतबारे सरल र सहज भाषामा सूचना प्रवाह गर्न पनि सरकारलाई आग्रह गरे।
बैठकमा रास्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले आपत्कालीन स्वास्थ्य उद्धारसँग सम्बन्धित कानुन तथा प्रक्रियाको तत्काल पुनरावलोकन गरी आकस्मिक अवस्थामा प्रत्येक नागरिकले उपचार पाउने हक सुनिश्चित गर्न माग गरे।
त्यस्तै, सांसद टीका सङ्ग्रौलाले कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई पदीय मर्यादा विपरीत थर्काएको भनिएको घटनासँग सम्बन्धित अडियो सामग्रीको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।



















प्रतिक्रिया