कालीगण्डकीको वितण्डा : पोखरेबगर पुल बग्यो, मुस्ताङसँग सडक सम्पर्क टुट्यो


म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर–२ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेपछि गाउँपालिकाका वडा नम्बर २, ३ र ४ सहित मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ। पुल बगाएपछि बेनी–जोमसोम सडकखण्डमा आवागमन प्रभावित भएको छ।

यसैबीच, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर–३ फगाममा एउटा घर पहिरोमा पुरिएको छ। पहिरोमा पुरिएका दुई जनाको अवस्था अज्ञात रहेको र उनीहरूको खोजी भइरहेको गाउँपालिकाले जनाएको छ।

बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा समेत कालीगण्डकी नदीले सडक कटान गरेको छ। नदीको बहाव बढेसँगै सडकमा क्षति पुगेपछि यातायात सञ्चालनमा थप समस्या भएको छ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ। लगातारको वर्षा र नदीको बहावका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।